09/03/2021
Suggestions from Dr Anup Bastola:
कोरोना भाइरसविरुद्धको खोप लगाउन आउने बुवाआमाको मनमा खोपबारे धेरै द्विविधा पाइयो । खोपले काम गर्छ-गर्दैन वा लगाउँदा कुनै असर देखिन्छ कि देखिँदैन भन्नेभन्दा पनि भिन्नै सवालहरु उहाँहरुले उठाउनु भयो । खोप लगाउन आउनु भएका बुवाआमा र परिवारका सदस्यको जिज्ञासा र मेरो जवाफ बुँदामा हेर्नोस् है त:
१. एसप्रिन वा/र क्लोपिलेट खानेले खोप लगाउन हुन्छ कि हुन्न?
- ढुक्क भएर लगाउन मिल्छ
२. रगत पातलो बनाउने औषधि वारफारिन खानेले लगाउन मिल्छ?
- आईएनआर माथिल्लो लिमिटभन्दा कम भएकाले लगाउन मिल्छ । खोप लगाई सकेपछि केही मिनेट खोप लगाएको ठाउँलाई थिचेर राख्न जरुरी हुन्छ ।
३. पेनिसिलिन एलर्जी भएकाले लगाउन मिल्छ कि मिल्दैन?
- लगाउन मिल्छ ।
४. मैले प्रेसरको दबाई खाइरहेको छु, के खोप लगाउन सकिन्छ?
- सकिन्छ ।
५. मैले मधुमेहको मुखबाट खाने दबाई र इन्सुलिन लिइरहेको छु, के मैले खोप लगाउन मिल्छ ?
- मिल्छ ।
६. मैले केही वर्ष पहिला स्तन क्यान्सरको अप्रेसन गरेको थिएँ, के खोप लगाउन मिल्छ?
- मिल्छ ।
७. मेरो केही समय पहिला एपेनडिक्सको अप्रेसन भएको थियो, मैले खोप लगाउन मिल्छ?
- मिल्छ ।
८. मैले क्यान्सरको केमो सकेको ३ महिना भयो, मैले खोप लगाउन मिल्छ?
- मिल्छ ।
९. मेरो बुवा ९३ वर्षको हुनुहुन्छ के गरौं?
- निर्धक्क खोप लगाउने ।
१०. म एचआईभी संक्रमित हुँ, एआरटी खाएको १२ वर्ष भयो, सबै ठिक छ । खोप लगाऊँ कि नलगाऊँ?
- लगाउने ।
११. मेरो मामाको पेटमा एनुरिजम छ, लगाउन मिल्छ ?
- मिल्छ ।
१२. मलाई रुघाखोकी लाग्या छ, खोप लगाउन मिल्छ ?
- कोभिड टेस्ट गराउनु पहिला, अनि सल्लाह गरौं ।
१३. मेरो बुवा मानसिक रोगको दबाइ खाँदै हुनुहुन्छ, खोप लगाउन हुन्छ ?
- लगाउन जरुरी छ ।
१४. मैले बाथको दबाई खाइरहेको छु के गरौं?
- खोप लगाउने ।
१५. मलाई कोभिड पोजिटिभ भएको १ महिना भयो, खोप लगाउनुपर्छ अब?
- लगाउनुपर्छ ।
१६. मैले प्रोस्टेट सम्बन्धी दबाई खाँदै छु, के गर्ने ?
- खोप लगाउने ।
१७. र मेरो स्पाइनल सम्बन्धी समस्या छ, दबाई खाँदै छु, के गर्ने ?
- खोप लगाउने ।
१८. मलाई किड्नी सम्बन्धी समस्या छ, दबाई खाँदै छु, खोप लगाउन मिल्छ?
- मिल्छ ।
१९. मैले डायलाइस गर्दै छु, के गरौं?
- खोप लगाउने ।
२०. मिर्गौला प्रत्यारोपण गरेको छु, के गर्ने ?
- लगाउने ।
२१. मलाई रक्त क्यान्सर देखिएको छ, उपचार गराउँदै छु, खोप लगाउनु कि नलगाउनु?
- आफ्नो उपचार विधि, अवस्था र रगतको जाँच गरेको रिपोर्ट देखाएपछि सरसल्लाहा मा ।
२२. मैले चिल्लो कम गर्ने दबाईको सेबन गर्दै छु के मिल्छ ?
- लगाउन मिल्छ ।
आज टेकु अस्पतालमा खोप लगाउनु भएका मध्य २२४ जना बुवाआमासँग उहाँहरुको दीर्घरोग बारे सोधिएको थियो ।
उहाँहरुको औसत उमेर ७१ (71.6 ± 6.2) थियो । जसमध्ये ११७ जना महिला र १०७ जना पुरुस हुनुहुन्थ्यो । १५६ (~७०%) जनामा दीर्घरोग रहेछ, जसका लागि निरन्तर दबाई सेवन गरिरहनु भएको छ । उच्च रक्तचाप ११२ (५०%) , मधुमेह ५० (२२%), थाइरोइडको समस्या १६ (७%), मुटु सम्बन्धी अन्य समस्या १५ (~७%), चिल्लो (लिपिड) सम्बन्धी समस्या १२ (५%) , फोक्सो सम्बन्धी समस्या ८ (~४%) , मिर्गौला सम्बन्धी समस्या ४ (~२ %), क्यान्सर उपचार सक्नु भएका ३ (१%) र १ जना नसा सम्बन्धी उपचार गरिरहनु भएका हुनुहुँदो रहेछ । सबै बुवाआमा खोप लगाएपछि कुनै समस्याबिना घर फर्किनु भयो ।